पृष्ठभूमि..

नेपाल कला र संस्कृतिको धनी राष्ट्र हो । यहाँका मौलिक कला र संस्कृतिको महत्व नेपालमा मात्रै नभई विश्व समुदायसम्म पुगेको छ । यही कला र संस्कृतिको संरक्षण एवं सम्बर्द्धन गर्दै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यका साथ सम्पूर्ण लोक तथा दोहोरी गायक, गायिका, सर्जक एवम् बौद्धिक वर्गको साझा छाता संगठन हो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल । २०५७ साल असोज १६ गते वरिष्ठ लोक गायक स्व. लोक बहादुर क्षेत्रीको स्मृतिमा नवलपरासी जिल्लाको अरुणखोलामा आयोजित राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगितामा उपस्थित दोहोरी गायक गायिका एवं निर्णायक मण्डलका आदरणीय अग्रज कलाकारहरुको भेलाले त्यो बेला वास्तवमै एउटा ऐतिहासिक निर्णय गर्‍यो । त्यसबेलासम्म छरपष्ट रुपमा रहेका सम्पूर्ण लोक तथा दोहोरी गायक गायिकाहरुलाई एकसुत्रमा बाँधेर आदरणिय अग्रजहरुले वरिष्ठ लोक दोहोरी गायक श्री अमर विरही गुरुङज्यूको अध्यक्षतामा १४ सदस्यीय तदर्थ समिति गठन गरी राष्ट्रिय दोहोरीगीत मञ्चको नामाकरण गरियो । उक्त तदर्थ समितिले विधान संशोधनको निम्ति गैंडाकोटको जनक उच्च मा.वि.मा बृहत भेला गराई उक्त भेलाले नै दोहोरीगीत मञ्चलाई संशोधन गरी राष्ट्रिय दोहोरीगीत प्रतिष्ठान नेपाल नामाकरण गर्‍यो ।  विभिन्न कालखण्डमा ऐतिहासिक पृष्ठभुमी बोक्दै आएको यस प्रतिष्ठानका जिल्ला शाखाहरु २०५९ सालदेखि अग्रज लोक दोहोरी गायक प्राज्ञ प्रजापति पराजुलीज्यूको अध्यक्षतामा रहेको कार्यसमितिको कार्यकालसंगै मौलाएको र झांगिएको पाइन्छ । उहाँसंगै यस संस्थालाई पुर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ लोक दोहोरी गायक प्राज्ञ दुर्गा रायमाझीज्यू, पुर्व केन्द्रीय अध्यक्ष वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेज्यू, पुर्व केन्द्रीय अध्यक्ष वरिष्ठ लोक दोहोरी गायक चन्द्र शर्माज्यूले समयानुकुल थप परिष्कृत र परिमार्जित गर्दै नेतृत्व प्रदान गर्दै आउनु भएको छ । प्रतिष्ठानका पुर्व केन्द्रीय अध्यक्ष, सुप्रसिद्द गायक बद्री पंगेनीज्यूले आफ्नो कार्यकालमा टोखा नगरपालिका- ७, काठमाडौंमा करिब २ करोडको भवन बनाउनुका साथै कलाकार कल्याणकारी कोषको रकम १ करोड पुर्‍याएर ऐतिहासिक कार्य गर्नुभएको छ । त्यसैगरी प्रतिष्ठानका निवर्तमान अध्यक्ष वरिष्ठ सर्जक तथा गायक रमेश बि. जी.ज्यूले  विभिन्न रचनात्मक कार्यहरू गर्दै कलाकार कल्याणकारी कोषको रकम १ करोड ५० लाख पुर्‍याउनुभएकाे छ । वागमती प्रदेशको धादिङ बेसीमा मिति २०७९ फागुन १२, १३ र १४ गते सम्पन्न प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिबेशनबाट श्री रिता थापा मगरज्यूको अध्यक्षतामा प्रतिष्ठान अगाडी बढीरहेको छ । यस संस्थाको हाल देशभरी ५ प्रदेश, १ काठमाडौं उपत्यका समन्वय समिति, ९ काठमाडौं उपत्यका समन्वयका शाखा समिति, ५४ जिल्ला, ९ विदेश शाखाहरुमा संगठन बिस्तार भएको छ । हालसम्म यस प्रतिष्ठानका ३० मानार्थ सदस्यहरु, २७७३ आजीवन सदस्यहरु र २३३२२ साधारण सदस्यहरु रहेका छन् ।

© , National Folk & Duet Song Academy Nepal. All rights reserved.
Developed by Smart Innovation